कार्ल मार्क्स किन रिसाए जंगवहादुरसंग ?

कार्ल माक्र्सले आफ्नो डायरीमा जंगबहादुर राणालाई बेलायती कुकुर भनेर खरो टिप्पणी गरेका छन् ।  माक्र्सको निधन पछि उनका सहयोद्धा फ्रेडरिक एङ्गेल्सले प्रकाशन गरिदिएको उक्त डायरीमा उल्लेखित अभिव्यक्ति माक्र्सको  भारतीय इतिहासपर एक टिप्पणीयाँ  नामको पुस्तकमा उल्लेख छ । नेपालका एक शक्तिशाली  राणा प्रधानमन्त्रीलाई “कुकुर” सम्बोधन किन गरे होलान् ?  विश्व सर्वहारा श्रमजीवी वर्गका नेता तथा दार्शनिक कार्ल माक्र्स राणासंग किन आक्रोशित बनेका होलान् ? ।
ब्रिटीश गोर्खा भर्तिको दुई सय वर्षको ईतिहास र करिव डेढ सय वर्ष अघि माक्र्सले जंगवहादुर राणाका बारे गरेको खरो टिप्पणीलाई तुलना गर्ने हो भने ब्रिटिश साम्राज्यवाद र जंगवहादुर राणाको स्वार्थका खातिर गोनेपाल र र्खाली युवाहरुले अनाहक अरुका लागि ज्यानको वलिदान दिएर लडिरहेको र दुई शासकहरुको लेनदेनका कारण गोर्खाली माथी ब्रिटिशको शोषण र उत्पिडन विरुद्ध माक्र्सको आवेग थियो ।
ब्रिटिश साम्राज्यका लागि नेपाली युवाहरूलाई गोर्खाली सेनाका रुपमा बेलायतले भर्ति गरेर साम्राज्य बिस्तारका लागि संसारका विभिन्न देश विरुद्ध अधिकतम प्रयोग गर्यो । कार्ल माक्र्सको जन्म देश जर्मनलाई पनि बेलायतले गोर्खाली सेनाहरु प्रयाग गरेर पराजित गरेको थियो । गोर्खाली युवाहरुले लडेर हासिल गरिदिएको जित नै ब्रिटिश साम्राज्यको जित थियो । लाखौं गोर्खाली युवाहरूलाई बेलायतको पाउमा सुम्पिने मानवतावाद विरोधी कामका सूत्राधार जंगबहादुर राणा थिए । आफ्ना देशका युवाहरुलाई पराया देशलाई भाडाका सिपाहिका रुपमा बिक्रि गर्ने जंगबहादुर राणालाई माक्र्सले आफ्नो डायरीमा कुकुरको संज्ञा दिएर टिप्पणी गरेका हुन् सक्छन् ।
ब्रिटिशले गोर्खाली युवाहरूलाई जर्मन, जापान, इण्डोनेशिया, ब्रुनाई, मलेसिया(मलाया) लगायत संसारका करिब दुई दर्जन देशहरूसँगको युद्धमा ढाल बनाएर प्रयोग गरेको थियो । बेलायतले गोर्खाली योद्धाहरूलाई प्रयोग गरेर संसारका धेरै देशहरूमा साम्राज्य बनाएको थियो । ब्रिटिश र राणाको मिलेमतोमा नेपालका युवा (जनजाती मुलका) हरूलाई जबरजस्ती बेलायती सेनामा भर्ती गराएका थिए । दुश्मनलाई मार्ने, काट्ने र क्रुर बन्न सिकाएर युद्धमा उतारे । जुन देशमा गोर्खाली युवाहरू युद्धमा पठाईए त्यहाँ उनीहरूले आफूलाई बलिदानी दिएर ब्रिटिश साम्राज्यलाई बलियो बनाइदिए । त्यही समयदेखि गोर्खालीलाई रक्तपिपासु, क्रुर र अमानविय जातीको रुपमा संसारले चिन्न थाले, ब्रिटिशका लागि गोर्खाली युवाहरूले भिरेको क्रुरताको कलङ्क अझै पनि पखालिएको छैन ।
संसारबाट पूँजीवाद तथा साम्राज्यवादको अन्त्य गर्दै श्रमजीविहरुको न्यायमा आधारित समाज स्थापना गर्ने उद्घोष गर्दै सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गरे लगतै माक्र्स आफ्नै देश जर्मनबाट लखेटिएका थिए । कार्ल माक्र्सको निर्वासित जीवनको लामो समय बेलायतमै बितेको थियो । सन १८८३ मा बेलायतमै प्राण त्यागेका माक्र्सले ब्रिटिश साम्राज्य र तिनका मतियार जंगबहादुर राणालाई त्यही अवसरमा राम्ररी चिन्ने मौका पाएका थिए ।
कार्ल माक्र्सको देश जर्मनलाई बेलायतले गोर्खाली युवाहरुको सहयोगले मात्रै युद्धमा पराजित गरेकाले माक्र्स जंगबहादुरसँग रिसाएको हुनसक्ने अनुमान पनि छ । तर, माक्र्स वैज्ञानिक साम्यवादको स्थापनासंगै राज्यविहीनताको परिकल्पना गर्दछन् । साम्राज्यवाद विरुद्ध कम्युनिष्ट घोषणा पत्रले स्पष्ट बोलिसकेको थियो । माक्र्सकै देश जर्मन पनि साम्राज्यवादको अभियानमै थियो । पराजित हुनु जर्मनका लागि दुर्भाग्य मात्र थियो । स्वयम आफै पनि देशबाट लखेटिएको हुनाले देशको हार र कारकतत्वप्रतिको आवेश भन्दा एउटा राष्ट्रप्रमुखले आफ्ना स्वार्थका लागि आफ्नै देश र नागरिकलाई गुलामी बनाएको विषयसंग सम्बन्धीत छ ।
ब्रिटिश साम्राज्यका लागि विभिन्न देशहरूसंगको युद्धका क्रममा ६० हजार बढी गोर्खाली युवाहरू मारिएका छन्, हजारौं घाइते, अंगभंग तथा बेपत्ता भएका छन् । मारिएका, घाइते भएका, बेपत्ता पारिएका गोर्खाली युवाहरूको तथ्याङ्क बेलायतले आजसम्म दिन सकेको छैन । पीडित परिवारलाई क्षतिपूर्ति दिएको छैन, युद्ध समाप्तिपछि खाली हात स्वदेश फर्काइएकाहरूलाई पेन्सन दिइएको छैन, पेन्सनमा पनि बेलायती र नेपालीलाई विभेद गरिएको छ ।
दुनिँयालाई लोकतन्त्र र मानवअधिकार सिकाउने बेलायतले गरेको यो जघन्य अपराध विरुद्ध गोर्खा भुतपूर्व सैनिक संघ (गेसो) लडिरहेको छ । निर्दोष गोर्खालीहरू किन मारिए ? गोर्खाली जातीको ईतिहास किन बर्बाद पारियो ? खोजिको विषय रहेको छ । गेसोले वर्षौदेखि लडिरहेको लडाईको सार साम्राज्यवाद र नोकरशाही विरुद्ध रहेकाले माक्र्सको टिप्पणी पनि यही सन्दर्भसंग मेल खान्छ ।
माक्र्सवादको जगमा साम्यवादको अधिकतम लक्ष्य सहित स्थापना भएको कम्युनिष्ट पार्टीको पूँजीवादी क्रान्ति मार्फत् समाजवाद हुँदै साम्यवादसम्म पुग्ने । नेपालमा त अहिले कम्युनिष्ट पार्टीकै दुई तिहाईको सरकार छ । गेसोले वर्षौदेखि लडिरहेको युद्ध साम्राज्यवाद विरुद्धकै लडाई हो । तर, यो सरकारले गेसोलाई साथ दिएको देखिएन । सिद्धान्ततः कम्युनिष्ट पार्टीले त साम्राज्यवादको विरोधमा हुने जुनसुकै आन्दोलनको अगुवाइ गर्नु पर्दथ्यो तर, व्यवहारमा त्यस्तो देखिएन ।
यो आन्दोलन बेलायती साम्राज्यका लागि रगत बगाएका साठीहजार नेपालीको न्यायका लागि थियो । घाइते र बेपत्ता परिवारको चहराइरहेको घाउको मलहम पट्टीका लागि थियो । साम्राज्यको गुलाम बनेर आफ्ना देशका युवाहरूलाई अरुलाई निर्यात गर्ने शासक विरुद्धको आन्दोलन थियो । बेलायत आन्दोलन विरुद्ध जालझेल गरिरहेको छ, षड्यन्त्रको तानाबाना बुनिरहेको छ । कम्युनिष्ट पार्टी भनेको साम्राज्यवादको चिहान खन्ने शक्ति हो । माक्र्सवादको यही सैद्धान्तिक जगलाई बलियो बनाउदै नेपाली कम्युनिष्ट पार्टीको सरकारले बेलायतसंग शिर ठाडो पारेर बहस गर्नु पर्छ ।
तर्क र बहसमा जतिसुकै आफूलाई असली र सही माक्र्सवादी पुष्टि गर्न खोजिए पनि सिद्धान्त र व्यवहारिक कसिबाट कम्यूनिष्ट पार्टीलाई स्थापित गर्नु पर्दछ र त्यो समय यही हो ।