सार्वजनिक सवारी साधनमा बिस वर्षे उमेरहद बेठिक भौतिक पूर्वाधार मन्त्री, फूयाँल

५ पुस २०७७
हेटौँडा । सार्वजनिक सवारी साधनमा लगाईएको उमेरको हदबन्दी ठिक नभएको भन्दै सवारी तथा यातायात नियमावली मार्फत संशोधन गर्न सकिने बागमती प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फूयाँलले बताएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र स्वरोजगार श्रमिक तथा व्यवसायीहरुले सार्वजनिक सवारीमा लगाईएको २० वर्षे समयको हदबन्दी पुनरविचार गर्न बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै आईतबार मन्त्री फूयाँलले उक्त कुरा बताएका हुन् । मन्त्री फूयाँलले ज्ञापन पत्रमा तोक आदेश गर्दै तत्काल समस्या सुल्झाउने प्रतिवद्धता जनाएका छन् ।
मन्त्री फूयाँलले सवारी साधनको कुनै उमेरको हद नहुने जनाउदै २० वर्षसम्म चल्ने, २० वर्ष पुरा भएपछि चल्न नसक्ने भन्ने कुरा गलत भएको बताए । सरकारको गलत नीतिका कारण यस वर्ष मात्रै ६ हजार २ सय ९ वटा सवारी साधनहरु विस्थापित हुन लागिरहेको र स्वरोजगार श्रमिकहरुको ९ अर्ब ३१ गरोड ३५ लाख रकम डुब्ने अवस्थामा रहेकाले नीति संशोधन गरिनु पर्ने ज्ञापन पत्रमा उल्लेख थियो ।
नेपालमा आफ्ना मोटर विक्रि गर्ने उदेश्यले मोटर कम्पनीहरुको नियोजित स्वार्थका कारण २० वर्षे सवारी हटाउन सरकार राजी भएको भन्दै सियो उत्पादन नहुने नेपालले यस्ता निर्णयले राष्ट्रिय पूँजीलाई विस्थापित गर्ने भन्दै संगठनहरुले यसलाई संशोधन गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
आधारभूत वर्गका स्वरोजगार श्रमिकहरुको लगानी रहेकाले उमेरको हदबन्दी भन्दा सवारीको प्रदुषण जाँच तथा भेहिकल फिट्नेस टेष्ट पास गरेका सवारीलाई थप १० वर्ष चलाउने अनुमति दिनु पर्ने, यदी हटाउन परे सट्टामा अर्को सवारी ल्याउन दिने व्यवस्था र त्यसरी सवारी ल्याउदा सहुलियतको व्यवस्था गर्नु पर्ने वा त्यस्ता सवारीलाई विद्युत्तियमा रुपान्तरण गर्ने वातावरण बनाउनु पर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।
त्यस्तै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले सार्वजनिक सवारीमा २० वर्ष उमेरको हदबन्दी तोक्ने नीतिमा आफु असहमत रहेको बताएका छन् । हाम्रो जस्तो देशमा सार्वजनिक सवारीको आयु तोक्ने विषय अव्यवहारिक रहेको मन्त्री जम्कटेलले बताए ।
मजदुर संगठन तथा स्वरोजगार श्रमिकहरुको समुहले आजै बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णु प्रसाईलाई समेत ध्यानाकर्षण गराएका छन् । संयुक्त प्रतिनिधि मण्डललाई प्रमुख प्रसाईले आफु अहिले २३ वर्ष पुरानो सवारी चढिरहेको स्मरण गराउदै सवारीमा उमेर तोक्ने काम ठिक नभएको बताए । उनले भने प्रदेशका मुख्यमन्त्रि, यातायात मन्त्री लगायत सरोकारवालाहरुलाई राखेर समस्या सुल्झाउने बताए ।
सवारीको आयु २० वर्षे आयु संशोधन सहित, सवारी जाँचपासमा रहेको अप्ठ्यारोलाई सहज बनाउन, सवारीको प्रदुषण पासका लागि घण्टौं लाईनमा बस्नु पर्ने र चर्को जरिवाना अन्त्य गर्नु पर्ने, सडकमा यातायात श्रमिकहरुले पाउने सास्ती लगायतका विषयमा ज्ञापन पत्रमा ध्यानाकर्षण गराईएको थियो ।