स्पार्टाकसलाई सम्झिएर

हामीले
सपना देख्दै आएकाहौं
सुखी र समृद्ध जीवनको
दुखदर्द र अभाव रहित जीवनको ।

लक्ष्य ताकेका हौं
अन्याय, अत्याचार र शोषणमुक्त जीवनको
समानतामा आधारित सुन्दर समाजको ।

इतिहासमा
विख्यात स्पार्टाकस जस्ता
कयौँ वीरपुरुषहरुले
हिम्मत गरेकैहुन्
अस्तित्व बदल्न मानव जातिको ।

र त सुरु भएको हो
मालिक विरुद्ध, दास विद्रोह
जमिनदार विरुद्ध, किसान संघर्ष
पूँजीपति विरुद्ध, मजदुर आन्दोलन ।

मानव समाजमा
हुनेखाने र हुँदाखानेहरुबीच
शोषक र शोषितहरुबीच
सदीयौंदेखि चल्दै आएको हो संघर्ष ।

युगहरु वित्दै गए
क्रमशः एकपछि अर्को
आदिम साम्यवादीयुग
दास युग
सामन्तीयुग
पूँजीवादीयुग
ल्याउनुछ समाजवाद
पुग्नुछ साम्यवादसम्म ।

युग अनुकुल
बद्लिएनन् हाम्रा सोँचहरु
यथावत छन् हाम्रा चेतनाहरु
कायम छन् गरिबी र असमानताहरु
उल्टो घुमिरहेछ, घडीको सुइ ।

स्वामी प्रतापी
अधिपति देव
चरणमा शरण परेर
भक्तिगाईरहेछ, आधुनिक दासहरु
देवत्वकरण हुँदैछन्
स्पार्टाकसहरु ।

वर्ग संघर्षलाई
स्वार्थको पिँजडामा हुलेर
मालिकको खोकिलाको दानापानीमा मोज गर्दै
श्रमिकको रगत–पसिनाको आहालमा
पौडिरहेछ
लम्पट सर्वहारा अगुवाहरु ।

प्रभुको अवतारमा
भक्तहरुको भजनले मग्न भएर
दासहरुको स्तुतिमा मुग्ध बनेर
आदर्शको उचाईबाट
अग्निकुण्डमा हामफालेर
ह्वार्ह्वार्ती जलिरहेछ
आधुनिक स्पार्टाकसहरु ।।

२१ कात्तिक २०७७
ढोलाहिटी, ललितपुर