मिजार दाइलाई आह्वान

ललितपुरको लगनखेल बसपार्क सडकपेटीमा मिजार दाइको जुत्ता सिलाउने, पालिस गर्ने साना ठाँउ छ । ललितपुरको धापाखेल निवासी दाइको यो पुख्र्यौली पेशा हो । २०७७ साल कात्तिक ४ गते विहान ११ वजे म वहाँको उक्त स्थानमा जुत्ता पालिस गर्न पुगेको थिएं । दाइले मेरो जुत्ता पालिस गर्न थाल्नुभयो मैले दाइलाई र वहाँको कर्मथलो वरिपरि नियाँले । मनमा एकखालको भावहरु आउनथाल्यो र त्यसैलाई घरमा पुगेर राती डायरीमा उतारें । र कविताका रुपमा तपाँईहरु समक्ष प्रस्तुत गरेको छु ।

 

गहिरो निद्राले क्लान्त
अचेत सडक किनारमा बसेर
सिलाईरहेछ, च्यातिएका सपनाहरु
चम्काईरहेछ पालिस, जिन्दगीका दागहरुमा
घोटिरहेछ ब्रस, धुलाम्य भविष्यका रेसारेसामा ।

उही काठको बाकस
उही पुराना औजारहरु
करङ भाँचिएको उस्तै छातामुनि
खियाइरहेछ, दश नङ्ग्रा , घोटेर नलीहाड
पुस्तौँदेखि, भोग चढाईहेछ रगत र पसिनाको ।

नउध्रिनेगरी तुन्नुछ, सपनाहरु
रंग भरेर हटाउनुछ, काला दागहरु
चहकिलो बनाउनुछ, सन्ततिका भविष्य
चुक्ता गर्नु छ, हिसाव किताव, शोषण र विभेदको । ।

क पटक
उथलपुथल बनाउनु छ, गाँउ, सहर र वस्तीहरु
जगाउनु छ, मूच्र्छित सडकलाई
आँधीबेहरी ल्याउनु छ चेतनाको
उडाउनु छ, उत्पीडनका धुलो, पातपतिङ्गर र चट्टानहरु
लतार्दै उच्छेद गर्नुछ कुप्रथाका रुखबुट्टा र जराहरु
हल्लाउनु छ, वेगसित पुराना घर र महलहरु
र, विनाश गर्नु छ, सदासदाका लागि
सदियौदेखिको कुरीति र विभेदहरु ।

मिजार दाइ !
अब त, तपाँई आफै पनि
चिर निद्राबाट
बौरिने बेला भएन र ?

४ कात्तिक २०७७
ललितपुर