पाँचजना चालक, सहचालकमा कोरोना पुष्टि

८ भदौ २०७७
काठमाण्डौं । पांचजना यातायात मजदुरहरुमा आज कोरोना संक्रमण पुष्टि भएको छ । बारा जिल्लाका अमलेखगञ्जस्थित नेपाल आयलनिगम डिपोमा ईन्धन ढुवानी गर्ने ट्याङकरका चालकहरु र सहचालकमा कोरोना पुष्टि भएको हो ।
संक्रमित चालक तथा सहचालक नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अमलेखगञ्ज ट्याङकर ईकाई कमिटीका सदस्यहरु रहेको र जसमध्य चारजना चालक र एकजना सहचालक रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव नवराज घिमिरेले जानकारी गराए ।
आयलनिगमका कर्मचारीहरुसंगै भदौ ६ गते स्वाव संकलन गरिएकोमा पाँचजना चालक सहचालक सहित १६ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आज आएको बुझिएको छ । चालक तथा सहचालकहरु सबै अमलेखगञ्जकै रहेको र निगमका कर्मचारीहरु बिरगन्ज, हेटौंडा तथा सिमराको रहेको बुझिएको छ । उनिहरु कसैमा पनि लक्षणहरु नदेखिएकाले घरमै आईसोलेशनमा रहेको बुझिएको छ ।
यस अघिपनि दुईजना यातायात मजदुरहरुमा कोरोना संक्रमण देखिसकेको छ, आजसम्मको विवरण अनुसार यातायात मजदुरहरु सातजनामा कोरोना संक्रमण पुष्टि भईसकेको महासचिव घिमिरेले बताए ।