वायुपुत्रहरुको आत्मसंयम

महाप्रभुको
रामलीला देखेर
हतप्रभ भएकाछन्
वायुपुत्रहरु ।

रणचण्डी
रगतको मत्तमा
रौद्र बनेपछि
बबुरो वायुपुत्रले
धूपधुवाँर गर्नै पर्यो
महादेवी, परमेश्वरी भन्नै पर्यो ।

विक्षिप्त शिव
ताण्डव नाचेपछि
बिचरो वायुपुत्रहरु
तालमा ताल मिलाएर
महादेव कि जय भन्नै पर्यो ।

निरो
रागिनी भेदहरुमा
सम्मोहित बनेर
बाँसुरी धुनमा मुग्ध बनेपछि
कठै ती वायुपुत्रहरु उही लयमा
वाह ! सम्राट वाह ! भन्नै पर्यो ।

भस्मासुरले
शिरमाथि हात राखिदिएपछि
आधुनिक युगका
पराधीन वायुपुत्रहरु
भस्मकारीसंगै
भस्मीभूत हुनै पर्यो ।

२४ जेठ २०७८