
मैले बाँच्नु छ
यो धरतीमा
मेरा प्रिय शत्रुहरुका लागि ।
…
निथ्रुक्कै भिज्ने मन छ, हिलो छ्यापिएर
कुरुप हुने रहर छ, मोसो पोतिएर
र, खुशी पार्नुछ मैले
मेरा प्रिय वैरीहरुलाई ।
…
निर्मम दागिने ईच्छा छ, बन्दुकको मोहरीले निधारमा
क्षतविक्षत छरिने चाहना छ, बमको छर्रासंगै सडकभरी
जितको तक्मा पहिर्याईदिनुछ मैले
मेरा प्रिय दुस्मनको छात्तिमा ।
…
मेरा प्रिय शत्रुहरुलाई
एक्लै छाडेर, युद्ध मैदानमा
मृत्यु रोज्ने छूट छैन मलाई
…
र, त, मैले बाँच्नु छ
यो धरतीमा
मेरा प्रिय शत्रुहरुका लागि ।
प्रतिकृया दिनुहोस्