सफा टेम्पो चलाउने महिला चालकहरुको पेशा संकटमा

योगमाँया सुनुवार ११ वर्षदेखि काठमाण्डौंमा सफा टेम्पो चलाएर जिविका चलाईरहेकी छिन् । रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिका स्थायी घर भएकी सुनुवार हाल गौशाला, पिंगलास्थान काठमाण्डौं बस्दै आईरहेकी छिन् ।
दुई छोरीहरुकी एक्ली अभिभावक रहेकी सुनुवारले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण काम बिहिन हुनुपर्दा झेल्नु परेका दुखका कथा व्यथा उनकै शब्दमा ।
यातायात श्रमिक बेरोजगार भएका छौं
मेरा दुई छोरीहरु छन् जेठी झरना सुनुवार १५ वर्षकी भईन् उनी ९ कक्षामा पढ्छीन् कान्छी यमुना सुनुवार १३ वर्षकी भईन् ८ कक्षामा पढ्छीन् । म एकल महिला हुँ, छोरीहरुको पालनपोषण शिक्षा दिक्षाको जिम्मा मेरै काँधमा छ । छोरीहरुको अभिभावक मै मात्रै हुँ । टेम्पो चलाएर यो सबै जिम्मेवारी पुरा गरिरहेको छु । तर, कोराना नियन्त्रणका लागि भएको लकडाउनका कारण मैले चलाई रहेको सफा टेम्पो र अन्य सवारी साधनहरु पनि ग्यारेजमै थन्कीएका छन् । म लगायत म जस्ता अरु चालकहरु पनि काम बिहिन भएर घर भित्रै बस्नु परेको छ । दिनभरी काम गरेर कमाएको पैसाले खानु पर्ने, जिवन चलाउनु पर्ने हामी जस्ता यातायात मजदुर अहिले बेरोजगार भएकाछौं । अहिले हाम्रो परिवार चलाउन धेरै नै समस्या परिरहेको छ ।


सरकारी राहत कागलाई बेल पाके जस्तै
सरकारले यातायात मजदुरहरुलाई छुट्टै कुनै सहयोग गर्ने योजना, राहत कार्यक्रम र स्वास्थ्य योजना केही पनि ल्याएन । हामी जस्ता सवारी चलाएर गुजारा गर्ने श्रमिकका लागि काठमाण्डौंमा कोठा भाडामा बसेको कारण राहत लिन विभिन्न सिफारिस फारम भर्नु पर्ने, घर धनीसंगको सम्झौता चाहिने, नागरिकता पेश गर्नु पर्ने जस्ता झमेला रहेको र घर धनीहरुले त्यस्ता कागजात नदिएकाले सरकारले दैनिक ज्यालादारीका लागि भनेर घोषणा गरेको राहत पनि पाएनौं र म जस्ता मजदुरहरुले कुनै पनि राहत तथा स्वास्थ्य सेवा सुविधा लिन सकेनौ । सरकारी राहत हामी यातायात श्रमिकका लागि कागलाई बेल पाके सरह भयो । सरकारले मजदुरहरुकै लागि भनेर कुनै पनि राहत प्याकेज ल्याएन । सरकारको स्थानिय तह तथा वडा स्तरबाट आम जनताका लागि भनेर ल्याएको योजनामा हामी मजदुरहरु कहीँ कतै परेका छैनौं । हामी आफ्नो ठाँउ भन्दा टाढा आएर अर्कै शहरमा कोठा भाडामा बसेर काम गर्ने भएकाले हामी हाम्रै कार्यथलोमा मात्रै हुने भएकाले पनि होला सरकारी राहत प्याकेजमा हामी नपरेको हुनसक्छौं । हामीले खाद्यान्न, स्वास्थ्य सामग्री, उपचार जस्ता कुनै पनि पाएनौं ।

महिला श्रमिकहरु असुरक्षित
कोभिड १९ का कारण हामी महिला मजदुरहरुलाई धेरै नै समस्या परिरहेको छ । भविष्य पनि सुरक्षित छैन । हामी यात्रु लिएर फिल्डमा हिडिरहनु पर्दछ संक्रमितहरुसंग पनि हाम्रो सम्पर्क हुनसक्छ । दिनमा सयौं जनासंग भेटघाट गर्नु पर्दछ । सम्पर्कमा रहनु पर्ने भएकाले हामीलाई जोखिम छ । क्वारेन्टाईनमा पनि हामी सुरक्षित छैनौं । कतिपय स्थानहरु क्वारेन्टाईनमा यौनजन्य अपराधका घटनाहरु भएको पढ्न सुन्नमा आएको छ । हामीले काम गर्ने क्षेत्र पनि सुरक्षित छैन । दैनिक यात्रुहरुको सेवामा हिड्नु पर्ने भएकाले कोरोना संक्रमणको जोखिम पनि उच्च छ । हामी महिला मजदुरहरु हरेक हिसावले सुरक्षित छैनौं भन्ने मलाई लागेको छ ।
साउनको ८ गतेदेखि आंशिक रुपमा सवारी चलाईरहेकाछौं । सवारीमा चढाउँदा, भाडा लिँदा, फिर्ता पैसा दिँदा दुरी कायम नहुन सक्छ । ती व्यक्तिहरु संक्रमित भएको पनि हुनसक्छ । यदी हामीलाई कोरोना संक्रमण भईहाल्यो भने पनि हाम्रो उपचारको व्यवस्था छैन, स्वास्थ्य तथा कोरोना बिमाको व्यवस्था छैन । यो अवस्थाले हामीलाई गम्भिर असर पार्ने देखिएको छ । अर्को तर्फ हामीले काम गर्ने सफा टेम्पो ईलेक्ट्रीक सवारी हो । तर, लामो समय लकडाउनका कारण ब्याट्रीहरु बसेका छन् । कतिपय सवारीहरु सदाका लागि ग्राउण्डेड हुने अबस्थाले चालकहरुको रोजगारी गुम्ने अवस्था पनि छ । रोजगारी नै रहेन भने हाम्रो छोराछोरीलाई कसरी पालनपोषण तथा शिक्षादिक्षा दिने ठुलो समस्या उत्पन्न हुने अवस्था छ । कसरी कोठा भाडा तिर्ने, कसरी खाद्यान्न सामग्री किन्ने, कसरी जिवन चलाउने भन्ने चिन्ता बढेको छ । अझै महिला चालकहरुका लागि अबको समय थप जटिल छ ।
दुई सय महिला चालक पेशाबाट बिस्थापित
सफा टेम्पोमा करिव ५ सय महिला चालक रहेका छन् । कतिपय स्थायी छन् कोही अस्थायी चालकहरु रहेका छन् । कोरोनाका कारण कतिपय टेम्पोहरु ग्यारेजमै थन्किएका छन्, कतिपय टेम्पोको ब्याट्र«ी फेर्न नसक्ने भएकाले व्यवसायीहरु नै पेशाबाट बिस्थापित हुने अवस्था छ । लकडाउन आंशिक खुले पनि करिव २ सय महिला मजदुरहरु पेशाबाट बिस्थापित हुनु पर्ने अबस्था आएको छ । काम गरिरहेकाहरु पनि सुरक्षित छैनन्, सवारी साधनहरु निर्मलीकरण गरिएको छैन । स्वास्थ्य प्रोटोकल पुरा गर्न, सवारी सफा गर्न, सामाजिक दुरी कायम गर्नु पर्ने नियम बनेपनि सफा टेम्पोमा त्यो नियम पालना भएको छैन । अधिकांश स्वरोजगार रहेकाले सवारी मर्मतसम्भार, सामानहरुको व्यवस्थापन गर्ने आर्थिक भार समेत थपिएको बैंक किस्ता तिर्न समेत नसकिरहेको अवस्थामा स्वास्थ्य सामग्रीहरु र निर्मलीकरण गर्ने काम हुनसकेको छैन । यसले हामी मजदुरहरुलाई झन जोखिम थपिदिएको छ ।


कष्टका साथ जिवन बितायौं
सफा टेम्पोमा काम गर्ने महिला मजदुरहरुले आफ्नो रोजगारी नै गुमाएकाले खान, लाउन, बस्न, स्वास्थ्य उपचार गर्ने जस्ता विभिन्न खालका संकटहरु उत्पन्न भएको छ । हामी मात्रै होईन बुकिङ, यातायात प्रालीमा काम गर्ने महलिा मजदुरहरु, बस स्टेण्डहरुमा पानी बेच्ने, मकै पोल्ने, खुद्रा पैसा साट्ने, सडकपेटीमा चिया पकाएर जिवन चलाउने अन्य महिला मजदुरहरुलाई समेत यो महामारीले रोजीरोटी खोसेको छ । कोरोनाका कारण अहिले हाम्रो नियमित जिवनलाई नै ध्वस्त बनाएको छ । यतीका दिनसम्म लकडाउनमा हामीले ऋण लिएर, सापटी चलाएर दुखका साथ जिवन चलाएकाछौं । लामो समय अत्यन्त कष्टका साथ जिवन बितायौं । घरमा बस्नु पर्दा स्वास्थ्यमा असर पुगेको छ । अहिले के खाँउ भरे के खाँउको अवस्थाबाट लामो समय पार गरेकाछौं । छोरीहरुको पढाईको चिन्ता त्यतिकै छ, स्कुलबाट शुल्क मागीरहेको छ, तिर्न सक्ने अवस्था छैन । युनिफर्म र पुस्तक किन्नु पर्ने बाध्यता छ । समस्याले पिरोलीरहन्छ । भविष्यमा पनि हाम्रो मुख्य चिन्ता यही हो । छोरीहरुको शिक्षा दिक्षा, खानपान, लालनपालन र उनीहरुको भविष्यको चिन्ता बढी हुन्छ ।
अब सफा टेम्पोमा काम गर्ने महिलाहरुको भविष्य पनि छैन । साहुले सफा टेम्पोमा ब्याट्री हाल्न सक्ने अवस्था छैन । ब्याट्री बीना टेम्पो चल्दैन टेम्पो नचलेपछि हाम्रो रोजगार स्वतः गुम्छ । बिस्तारै उपत्यकाबाट सफा टेम्पो हट्ने अबस्था आईरहेको छ । तिन चक्के सवारी विस्थापित हुनासाथ हामी महिला मजदुरहरु बेरोजगार हुनु पर्ने अवस्था छ । महिला मजदुरहरुलाई यो पेशामा रहिरहने वातावरण बनाउने काममा हाम्रो संगठनहरुले पहल गरेन र राज्यको ध्यानाकषर्ण गराएन भने हामी चौतर्फि संकटमाछौं ।
महिला चालकहरुमा डिप्रेशन देखिएको छ
लकडाउनका कारण लामो समयदेखि तनावले गर्दा धेरै महिला मजदुरहरुमा मानसिक रोगहरु देखा पर्न थालिसकेका छन् । धेरै महिला चालकहरुमा डिप्रेशन देखिएको छ । पहिलो कुरा चिन्तालाई मनबाट हटाउने जिवनलाई कसरी खुशी बनाउने भन्ने अर्थात जिवन जिउने कला सिकाउने खालका अभिप्रेरणामुलक अनुशिक्षण गर्नु पर्छ । संकटमा पनि अघि बढ्न सक्नु पर्छ भन्ने प्रशिक्षण संगठनको तर्फबाट दिनु पर्छ ।
दोस्रो यदी तिन चक्के टेम्पो बिस्थापित भएपनि चार चक्के ठुलो सवारीमा काम गर्न सक्ने गरी महिला चालकहरुलाई शिपमुलक तालिमको व्यवस्था गर्ने । ठुला सवारी साधन चलाउने लाईसेन्स लिने वातावरण बनाउदै महिला मजदुरहरुलाई यातायात क्षेत्रमा सधै टिकाईराख्ने तालिमहरुको आयोजना संगठनको तर्फबाट गर्नु पर्दछ । सफा टेम्पो हटे पनि चार चक्के ठुला सवारी चलाउने गरी महिलो चालकहरुको रोजगारी बचाउने र महिला मजदुरहरुको नेतृत्व बिकास गर्ने, आफु स्वावलम्बि हुने आफ्नो पेशालाई थप परिस्कृत गर्दै अन्य महिलाहरुलाई पनि यस पेशामा आकर्षित गर्ने अभियानहरु चलाउनु पर्छ ।
राज्यले हेरेन, संगठनले दुखमा साथ दियो
म नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्य हुँ । महिला मजदुरका लागि म आवद्ध रहेको संगठनले दुखमा परेका महिला मजदुरहरु मात्रै होईन देशभरीकै मजदुरहरुलाई विभिन्न व्यक्ति र संस्थाको सहयोगमा दाल, चामल, नुन, तेल तरकारी लगायतका खाद्यान्न सामग्रीहरु आपतमा परेका मजदुरहरुलाई राहत प्रदान गरेको छ । लकडाउनको समयमा कोही पनि घरबाट बाहिर निस्कीन नसक्ने अवस्थामा मोटरसाईकलमा सामग्रीहरु बोकेर संगठनका नेताहरुले घरघरमा पुगेर सहयोग गर्नु भएको छ । हामीलाई खान बस्न नै समस्या भईरहेका बेलामा हामीलाई दुखमा साथ दिने काम संगठनले गरेको छ । यो पर्याप्त होईन तर राज्यले मजदुरहरुलाई केही पनि नगरेको अवस्थामा संगठनले साथ दिएको छ । हामी रोजगारबिहिन भएको अवस्थामा हाम्रो जिवन धान्नका लागि भएपनि केही गरेकोमा हामी खुशी छौं ।
चालक हुँ भन्दा गर्व महशुस गर्छु
म आफुलाई चालक हुँ भन्दा गर्व महशुस गर्छु । र आफै म संक्षम छु । सम्पूर्ण यातायात महिला मजदुरहरुलाई म आत्मविश्वासका साथ काम गर्नुस आत्मनिर्भर हुनु पर्छ भन्न चाहान्छु । सुरक्षालाई ध्यान दिनुस, सुरक्षित रहेर काम गर्नुस । यतीवेला बिश्व महामारीको चपेटामा छौं । काम गर्दा मास्क, पन्जा, स्यानीटाईजर र व्यक्तिगत सुरक्षा सामग्रीहरुको प्रयोग गर्नुस आफु सुरक्षित रहनुस र अरुलाई पनि सुरक्षित सेवा दिनुस भन्न चाहान्छु । ज्यान रहे मात्रै अरु काम गर्न सकिन्छ ।

तस्वीर : हेम राई/धन खालिङ