चालकहरुलाई सचेत गराउन सडक अभियान

१६ साउन २०७७
काठमाण्डौं । बानेश्वरको संसद भवन अघि शुक्रबार बिहान सबेरै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका नेताहरु कोही, मास्क बोकेर, कोही पन्जा, कोही स्यानीटाईजर हातहातमा बोकेर सडकमा निस्किए ।
यात्रु लिएर हिंडिरहेका र यात्रुको प्रतिक्षामा रहेका चालकहरुलाई सवारी साधन भीत्रै सामग्रीहरु हस्तान्तरण गरे । र, मास्क, पन्जा, स्यानीटाईजर अनिवार्य प्रयोग गर्न सबै चालकहरुलाई सुझाए । मास्क नलगाएका यात्रुलाई सवारीमा चढ्नै नदिन समेत चालकलाई आग्रह गर्दै सडकमा मजदुरका नेताहरु चोक ओर र पर गर्दै चालकहरुलाई सजग गराईरहे ।
सुन्धारा, रत्नपार्क र अनामनगर हुँदै बानेश्वर भएर चावहिल, जोरपाटी, कागत्यायनी, गौशाला, शँखमुल लगायतका रुटमा चल्ने सफा टेम्पोका करिव दुई सय चालक तथा बटुवाहरुलाई समेत नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अनामनगर सफा टेम्पो ईकाईले स्वासथ्य सामग्रीहरु निःशुल्क वितरण गरेको हो ।
कोभिड १९ का कारण २०७६ साल चैत्र ११ गतेदेखि नेपाल सरकारले बन्दाबन्दी गरेको थियो । १ सय २० पछि २०७७ साउन ८ गतेदेखि बन्दाबन्दीको अन्त्य गर्दै सार्वजनिक सवारी साधनहरु अन्तर जिल्लागत रुपमा सञ्चालन भएता पनि कोरोना भाईरसको जोखिम कायमै छ । देशभर कोरोना संक्रमितहरु बढिरहेका छन् । साउन १६ गते मात्रै पनि काठमाण्डौंमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तो अवस्थामा यातायात मजदुरहरु अति जोखिममा हुने हुनाले चालक तथा यातायात मजदुरहरुका लागि स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेको संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । चौतर्फि चुनौति थपिएकाले सडकमा उत्रिएर चालकहरुलाई सचेत बनाउने काम गरिएको संगठनका उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
जोखिमका वीच यात्रुको सेवामा लाग्नु पर्ने हुन्छ, आफ्नो ज्यान भन्दा ठुलो केही हुन्न त्यसका लागि संगठनको तर्फबाट मजदुरहरुलाई सजग गराईएको संगठनका महासचिव नवराज घिमिरेले बताए ।
घिमिरेले भने अब हामी देशव्यापी रुपमा यो अभियान सञ्चालन गर्छौ, बसपार्क तथा बिसौनीहरुमा शिविर राखेर श्रमिकहरुलाई सजग गराउछौं ।
यातायात मजदुरहरुको स्वास्थ्यको बारेमा स्वयम सचेत हुनु पर्ने भएकाले संगठनकै खर्चमा स्वास्थ्य सामग्री वितरण गरिएको संगठन अनामनगर सफा टेम्पो ईकाई अध्यक्ष बिकास लामाले जानकारी गराए ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सामग्री हस्तान्तरण गर्दै
संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ सामग्री हस्तान्तरण गर्दै
संगठनका अनामनगर अध्यक्ष बिकास लामा सामग्री हस्तान्तरण गर्दै